सत्तारूढ गठबन्धनमा रहेका दलहरूको बैठक आज (बिहीबार) पनि बस्दै छ।

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा बुधबार बेलुका छलफल गरेका गठबन्धनका शीर्ष नेताहरूले त्यसलाई आज पनि निरन्तरता दिने भएका हुन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बुधबारको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको सहभागी एक नेताले बताए। आजको बैठकले मन्त्रिपरिषद् विस्तारको विषय टुंगो लगाउने उनले बताए।

यसअघि मंगलबार बेलुका बसेको गठबन्धनको बैठकले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बुधबार बेलुका बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेता सहभागी भएका थिए।

सरकार गठन भएको दुई महिनाभन्दा बढी समय भइसक्दा पनि देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

सम्बन्धित खबरहरु