काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे बस्नेछ ।

शुक्रबारदेखि शुरु बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष बैठकमा सुनाएका थिए।

उनीहरूले सातजना उपाध्यक्ष राखेर प्रदेश इन्चार्जको जिम्मेवारी दिन सुझाब दिएका छन् । विधान संशोधन प्रस्तावमा भने तीनजना मात्र उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी वैठकमा आज समूहगत छलफलबाट आएको सुझावबारे पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतले जवाफ दिने कार्यक्रम छ ।

पार्टी अध्यक्षमा ओली दोहोरिँदा नेताहरू ईश्वर पोखरेल, सुवास नेम्बाङ, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा लगायतलाई व्यवस्थापन गर्न उपाध्यक्ष थप्नुपर्ने सुझाब आएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, सांगठनिक तथा विधान संशोधन प्रस्ताव प्रतिवेदनमा आएका सुझावमाथि जवाफ दिने सचिवालयले जनाएको छ ।

नेकपा एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

सम्बन्धित खबरहरु