नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक सकिएको हो ।
यसैबीच पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । आज बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले १० बुुँदेबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिएका हुन् ।
यसअघि उपाध्यक्ष भीम रावल लगायतले १० बुँदे कार्यान्वयनमा समस्या आएको भन्दै यसबारे केन्द्रीय समिति बैठकमा छलफलको एजेण्डा बनाउन माग गरेका थिए ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत तीनवटै दस्तावेज परित गरिएको छ । शुक्रबारदेखि जारी बैठकको अन्तिम दिन आइतबार दस्तावेज प्रस्तुतकर्ताले जवाफ दिएसँगै पारित गरिएको हो ।
स्थायी कमिटीबाट पारित भएर आएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित भएको हो । बैठकमा आएका सुझावहरुलाई समावेश गर्ने गरी ती दस्तावेज पारित भएको छ । आज ओली, पोरखेल र पौडेलले जवाफ दिएका थिए ।
ती दस्तावेजमाथि छलफलका लागि केन्द्रीय कमिटीको बैठकमा शुक्रबार नै १० वटा समूह बनाइएको थियो । समूहमा गरिएको छलफलका निष्कर्षहरुलाई शनिबारको बैठकमा समूह नेताले प्रस्तुत गरेका थिए ।