काठमाडौं – सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच आज छुट्टै भेटवार्ता भएको छ।
नेपालको निवास कोटेश्वरमा दुई नेताबीच भेटवार्ता भएको हो। नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका थिए।
करिब १ घण्टासम्म चलेको भेटवार्तामा दुई नेताबीच मन्त्रिपरिषद् विस्तार तथा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका विषयमा छलफल भएको जनाइएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकार विस्तार छिटो गर्ने सहमति भएको थियो । भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए ।
प्रचण्डले बैठकमा प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डल विस्तार गर्न आग्रह गरेका थिए । तर, अहिलेसम्म दलहरुको बीचमा मन्त्रालयको भागबन्डा नमिलेका कारण मन्त्रिमण्डल विस्तार हुन सकिरहेको छैन ।
दुवै नेताको भेटपछि बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले अध्यादेश फिर्ता लिएर मन्त्रिमण्डल विस्तार गर्नुपर्ने निर्णय गरेको छ ।