हाल चितवनमा मात्र मध्यमसम्म वर्षा भइरहेको छ भने देशका अन्य स्थानमा कतै पानी परेको छैन। मौसम आंशिकदेखि सामान्यसम्म बदली मात्र छ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा काठमाडौं उपत्यकामा पनि आज अपराह्नतिर हल्का वर्षा हुने देखिएको मौसमविद् प्रधानांगले जानकारी दिए।

महाशाखाको बुलेटिनअनुसार आज राति पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

मौसमविद् प्रधानांगका अनुसार मनसुन अन्तिम चरणमा पुगिसकेकाले अब ठूलो वर्षाको सम्भावना खासै छैन। हल्कादेखि मध्यमसम्म क्षणिक वर्षाको मात्र सम्भावना छ। मनसुनी प्रणाली हट्ने सामान्य मिति आउने अक्टोबर २ तारिख हो।

‘तर त्यही मितिमा मनसुन बिदा हुने देखिएको छैन’, मौसमविद् प्रधानांगले भने, ‘केही लम्बिने संकेत देखिएको छ, तर वर्षा त्यस्तो ठूलो हुँदैन।’

सम्बन्धित खबरहरु