सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तको थप उपचार गर्न थाइल्याण्डको बैंकक लगिने भएको छ।

जन्डिस देखिएर सोमबार अस्पताल भर्ना भएका उनलाई उपचारका लागि बुधबार बैंकक लगिन लागिएको सांसद एवम् पत्नी ओनसरी घर्तीले बताइन्। उनको बैंककस्थित पहिले उपचार गरेकै समितिभेज अस्पतालमा उपचार हुने घर्तीले बताइन्।

तीन दिनअघि जण्डिस देखिएपछि पूर्व अर्थमन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। समाचार अनुसार उनी माओवादी केन्द्रको कार्यक्रममा भाग लिन लुम्बिनी प्रदेश गएका बेलादेखि बिरामी परेका थिए।

सुरुमा ज्वरो आएपछि अस्वस्थ भएका उनको अस्पतालमा परीक्षण गर्दा जण्डिस पुष्टि भएको थियो। पहिले पनि वर्षमानलाई जण्डिस देखिएको थियो। यसअघि पनि उनको बैंककमै उपचार गरिएको थियो।

बिरामी परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सोमबार बिहान वर्षमानलाई भेट्न उनको निवास पुगेका थिए। यसअघि पनि वर्षमानलाई ज्वरो आएर निमोनिया भएको थियो। उनी २०७२ र २०७३ मा तीन पटक बैंकक गएका थिए।

त्यसबेला पनि उनलाई निमोनिया, ज्वरो र लगातार बान्ता हुने समस्या थियो।

सम्बन्धित खबरहरु