काठमाडौं – नेकपा माओवादी केन्द्रका स्थायी समिति बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको बैठकले मन्त्रीको नाम टुंगो लगाउने नेताहरुले बताएका छन् ।

मन्त्रीको नाम टुंगो लगाउनुभन्दा पहिले माओवादी केन्द्र लगायत सत्तारुढ दलहरुले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

सत्तारुढ सबै दलबाट मन्त्री बन्नेहरुको नाम प्राप्त भएमा आज साँझसम्ममा सपथ ग्रहण गराउने तयारीमा प्रधानमन्त्री कार्यालय छ ।

यसपटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने भएको छ ।

माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको हो । माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालमन्त्री भइसकेका छन् ।

एक नेताका अनुसार सरकारमा सहभागी हुने मन्त्रीमा यसअघि मन्त्री नभएका सांसदले अवसर पाउने भएका छन् । एक स्थायी समिति सदस्य देवेन्द्र पौडेल मन्त्री हुने पहिलो लिस्टमा छन् ।

उनी लगभग मन्त्री हुने निश्चित भइसकेको छ । त्यस्तै माओवादीबाट अञ्जना विशंङखे र शशी श्रेष्ठमध्ये एक जनालाई सरकारमा पठाउने तयारी रहेको छ ।

सबै समुदाय र भूगोलको प्रनिधित्व गराउनुपर्ने भएकाले सुदन किराती, महेश्वर गहतराज ‘अथक’लाई पनि मन्त्री बनाउने माओवादीको तयारी छ ।

यसअघि मन्त्री भइसकेका नेताबाट सरकारमा गएमा स्थायी समिति सदस्य हरिबोल गजुरेल, मातृका यादव र देव गुरुङ हुन सक्नेछन् ।

सम्बन्धित खबरहरु