काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ।  बैठकले आज पनि मन्त्रीको टुंगो लगाउन सकेन । मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेपनि मन्त्रालयको भागवण्डा अझै नटुंगिएकाले मन्त्रीको टुंगो नलागेको हो ।

बैठकपछि स्थायी समिति सदस्य देव गुरुङले मन्त्रीको नाम टुंग्याउने विषयमा बैठकमा छलफल नभएको जानकारी दिए ।

मन्त्रालय बाँडफाँटको विषयमा अहिलेसम्म कुनै टुंगो नै नलागेको भएकाले बैठकमा मन्त्री कोको पठाउने भन्ने विषयमा ठोस छलफल नभएको उनको भनाइ थियो ।

दल विभाजनसम्वन्धी अध्यादेश फिर्ता लिइसकेको अवस्थामा अब सत्ता गठबन्धनमा रहेका दलहरु बसेर टुंगो लगाउने तयारी भइरहेको समेत नेता गुरुङले जानकारी दिए ।

बैठकले पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित पार्न गृहकार्य सुरु गर्ने निर्णय पनि गरेको छ ।

बुधबार पेरिसडाँडामा बसेको माअ‍ेवादी स्थायी कमिटी बैठकमा पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजना पेस भएको हो । उक्त योजना बैठकले स्वीकार गरेको नेता गुरुङले जानकारी दिए ।

त्यस्तै विभिन्न समयमा भएका पार्टी एकताका आधारमा संगठनमा समेट्न छुटेका नेताहरुको समायोजनाका लागि गठित कार्यदलले सुझाव पेस गरेको र कार्यान्वयनमा लैजाने निर्णय भएको नेता गुरुङले बताए ।

पार्टीको स्कुल विभागसम्बन्धी व्यवस्थाका बारेमा केही योजनाहरु बैठकमा पेस भएको र अध्ययन गरेर टुङ्गो लगाउने निर्णय भएको उनले बताए ।

त्यस्तै, सरकार गठनका बारेमा गठबन्धनबीच छलफल गरेर आवश्यक निर्णयमा पुग्ने र त्यसैका आधारमा पार्टीले नाम पठाउने गुरुङले बताए । गुरुङले एमालेले सदन अवरुद्ध गरेको अवस्थामा विपक्षीसँग सरकारको तर्फबाट छलफल गरेर संसद्को प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले छिट्टै सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको बताएका थिए ।

सम्बन्धित खबरहरु