काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान १० बजे बालुवाटार बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ ।
बैठकमा संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा छलफल हुनेछ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी हुने–नहुने निश्चित छैन । यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो ।
आफूहरुले कारवाही गरेका माधव कुमार नेपाल बैठकमा सहभागी भएको भन्दै एमालेले सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठक बहिस्कार गरेको हो । साथै आफूहरुले सभामुखको निर्णयमा आपत्ति जनाएर संसद अवरुद्ध गरेको हुनाले सभामुखको निम्तो अस्वीकार गरिएको एमाले नेताहरुले बताएका थिए ।
नेकपा एमालेले माधव नेपालहरुमाथिको कारवाहीको सूचना सभामुखले नटाँसेसम्म संसद अवरुद्ध गर्ने बताउँदै आएको छ । शुक्रबारको बैठक पनि अवरुद्ध पार्ने एमालेको तयारीको छ ।
सत्तापक्षले भने एमालेले माग गरे वमोजिम राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको हुनाले संसदको अवरोध खोल्न प्रतिपक्षलाई आग्रह गर्ने तयारी गरेको छ । त्यसैका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक राखेको काँग्रेस नेताहरु बताउँछन् ।
तर, प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा एमाले नेताहरु सहभागी हुने, नहुने बुधबार रातिसम्म स्पष्ट भइसकेको छैन । ‘बैठकमा जानेबारे अध्यक्षज्यूबाट कुनै खबर आइसकेको छैन’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले रातोपाटीसँग भने, ‘खबर आउला, अध्यक्षबाट जस्तो निर्देशन आउँछ, एमाले सोहीअनुसार अगाडि बढ्छ ।’
आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ । त्यसअघि प्रधानमन्त्री देउवादले सर्वदलीय बैठक बोलाएका हुन् । यसअघिका बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले लगातार अवरोध गरेको थियो ।
संसदको अवरोधबारे सभामुख अग्निप्रसाद सापकोटाले पहल गरे पनि निकास निस्किन नसकेपछि प्रधानमन्त्रीले नै पहल थालेका हुन् ।
सभामुख सापकोटाले बोलाएको बैठकमा त प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली सहभागी नै भएका थिएनन् । प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा भने पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली जाने नजाने टुंगो छैन ।