काठमाडौं– बालुवाटारमा बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल एमालेलाई संसद् सुचारु गर्न आह्वान गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको बैठकमा नेकपा एमाले भने अनुपस्थित रह्यो।
बैठकमा एमाले अनुपस्थित भएपछि उसलाई संसद् प्रभावकारी कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको भन्दै कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध नर्गन प्रतिपक्ष एमालेलाई प्रधानमन्त्रीले आह्वान गरेको बताए।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दल र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको थियो। बैठकमा एमाले उपस्थित नभएकाले जारी अवरोधबारे कुनै सहमति नभएको उनले बताए। ‘संसद् अवरोध गर्नुभएको छ। संवाद र वार्ता गर्नुपर्ने थियो, सभामुखले बोलाएको वैठकमा पनि एमाले अनुपस्थित भएको थियो, आज पनि उपस्थित हुनु भएन,’ उनले भने, ‘यसले वहाँहरु संवाद र वार्ताबाट पर भागेको देखियो। जुन मुलुकको आवश्यकताभन्दा परको कुरा भयो।’
एमाले नआए पनि पछिको बैठकमा आउने आश राख्दै फेरी पनि सर्वदलीय छलफलका लागि तयार रहेको प्रधानमन्त्रीले बताएको उनले बताए।
संसद्लाई मर्यादित र निर्वाध रुपमा सञ्चालन गर्ने र अगाडि वढाउन एमाले तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका सकारात्मक रहने अपेक्षा प्रधानमन्त्री देउवाले गरेको उनले बताए।
‘संसदमा अहिले प्रतिनिधि सभामा ३३ वटा विधेयक र राष्ट्रिय सभामा २७ विधेयक रहेका छन्।यी राष्ट्रिय आवश्यकता र महत्त्वका छन्,’ उनले भने, ‘आगामी बैठकमा वहाँहरुको सक्रिय उपस्थिति हुने विश्वास प्रधानमन्त्रीले गर्नुभएको छ,’ कनुनमन्त्री कर्कीले भने।
संसद अधिवेशन अन्त्य गर्ने सोच नभएको भन्दै उनले यसलाई नियमित रुपमा र मर्यादित बनाएर चलाउन चाहेको बताए।
सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवा, कानुन मन्त्री कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी भएका थिए।
यसअगाडि सभामुख सापकोटाले राखेको सर्वदलीय बैठकमा पनि एमाले अनुपस्थित रहेको थियो।