नेपालमा मनसुन बाहिरिने औसत मिति अक्टोबर २ (हिजो शनिबार) भए पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामै रहेको मौसमविद्ले बताएका छन्।
मौसमविद् मञ्जु बासीका अनुसार यसापालि मनसुन केही समय ढिलागरी बाहिरिने देखिएको हो। ‘कम्तीमा आगामी ३ दिनसम्म मनसुन बाहिरिने संकेत देखिएको छैन’, मौसमविद् बासीले भनिन्।
मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रियालाई नियमित रूपमा अनुगमन गरिरहेको छ र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ।
मौसमविद् बासीका अनुसार अहिले (आइतबार बिहान ६ः४५ बजे) प्रदेश १ र २ का थोरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ भने देशका बाँकी प्रदेशमा मौसम सामान्य (धेरैजसो आकाशमा बादल, थोरै खुला) देखि पूर्ण (पूरै आकाशमा बादल) सम्म बदली छ।
मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधिलाई बुझ्नुपर्छ) प्रदेश १, २ र बागमती प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस क्रममा प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ यिनै प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
‘काठमाडौं उपत्यकामा पनि दिउँसोतिर हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् बासीले भनिन्।
महाशाखाको बुलेटिनअनुसार आज राति पनि प्रदेश १ र २ का धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १ र २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ।
मौसमविद् बासीका अनुसार हल्का वर्षा भनेको १० मिलिमटरभन्दा कम, मध्यम वर्षा भनेको १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरसम्म र यसभन्दा माथि सय मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भनिन्छ। सय मिलिमिटरभन्दा माथि पानी पर्नुलाई चाहिँ धेरै भारी वर्षा भनिन्छ।