काठमाडौं – मन्त्रिपरिषद्को बैठकले ‘रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८’ स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले साे निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार आजको बैठकले नेपाल प्रशासन सेवातर्फको राज पत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय समेत गरेको छ।

त्यस्तै बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको रिक्त सदस्यमा सह न्यायाधिवक्ता डा. गोपिचन्द्र भट्टराईलाई तोक्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले ऋण असुली न्यायाधीकरणको रिक्त कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय गरेको छ।

यही असोज २४ देखि २८ गतेसम्म परराष्ट्रमन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

बैठकले विद्युतीय राहदानी बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरु ‘सेक्युरिटी फिचर्स’ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए।

सम्बन्धित खबरहरु