काठमाडौं – नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतपार्टी कार्यालय सानेपामा भएको मतगणनामा अनुसार उनीहरु महामन्त्रीमा विजयी भएका हुन् ।

सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेललाई पछि पार्दै छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा भएको निर्वाचन समितिले जनाएको छ ।

अन्तिम मत परिणाम अनुसार गगन थापाले ३०२३ र विश्वप्रकाश शर्माले १९८४ मत पाएका छन् । यस्तै डा. प्रकाशशरण महतले १५५६ , प्रदीप पौडेलले १३९३, मीनेन्द्र रिजालले ८०९ र डा. राजाराम कार्कीले १०६ मत प्राप्त गरेका छन् ।

कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा रहेको थियो । यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।

सभापतिबाहेक अन्य पदको मतगणनाकाँग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाती १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

सम्बन्धित खबरहरु