बीमाको दाबी भुक्तानीमा ढिलासुस्तीको गुनासो बढेपछि नेपाल बीमा प्राधिकरणले यस विषयमा चासो राख्दै बीमा कम्पनीहरूबाट दाबी भुक्तानीको विवरण माग गरेको छ। विशेषगरी मृत्यु दाबीमा सुधार देखिए पनि, जीवन बीमा कम्पनीहरूको दाबी विभागमा अझै दुई वर्षभन्दा पुराना मुद्दाहरू थाती रहेका छन् । सवारी दुर्घटना र आगलागी जस्ता घटनामा निर्जीवन बीमामा पनि दाबी भुक्तानीमा ढिलाइ भइरहेको छ।

बीमा प्राधिकरणले दाबी भुक्तानीलाई प्राथमिकतामा राख्दै, बीमाको विश्वसनीयता बढाउन र लाभ विस्तार गर्न समयमै भुक्तानी गर्नुपर्ने बताएको छ। जीवन बीमा दाबीमा कुनै उजुरी आएमा, प्राधिकरणले तत्परता देखाउँदै अधिकांश मुद्दामा बीमित पक्षको पक्षमा फैसला दिने गरेको छ।

प्राधिकरणका नियमन शाखाका प्रमुख पदम प्रसाद सोडारीले जीवन बीमकलाई दाबी भुक्तानीमा ढिलासुस्ती नगर्न निर्देशन दिएको र निर्जीवन बीमकको बाँकी रहेको दाबी भुक्तानीबारे अध्ययन भइरहेको जानकारी दिनुभयो। अध्ययन पूरा भएपछि, सम्बन्धित बीमकलाई समय सीमा दिएर दाबी फर्छ्यौट गर्न निर्देशन दिइने उहाँले बताउनुभयो।

प्राधिकरणको दाबी भुक्तानी मार्गदर्शन २०८१ अनुसार, जीवन बीमकले दाबी निवेदन परेको ३० दिनभित्र मृत्यु दाबी भुक्तानी गर्नुपर्छ। आवश्यक कागजात प्राप्त भएपछि १५ दिनभित्र छानबिन गरी दाबी फर्छ्यौट पूर्जा जारी गर्नुपर्छ र पूर्जा प्राप्त भएको १५ दिनभित्र भुक्तानी गर्नुपर्दछ। साना दाबी भुक्तानीको हकमा, जीवन बीमकले दुई लाख रुपैयाँसम्मको र निर्जीवन बीमकले पचास हजार रुपैयाँसम्मको दाबी १५ दिनभित्र फर्छ्यौट गर्नुपर्छ। निर्जीवन बीमामा सर्भेयरबाट प्रतिवेदन प्राप्त भएको २१ दिनभित्र दाबी फर्छ्यौट गर्नुपर्ने प्रावधान छ, जसअनुसार सामान्य अवस्थामा ३६ दिनभित्र दाबी भुक्तानी गरिनु पर्दछ।

सम्बन्धित खबरहरु