यस वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृती ‘मुकाम रणमैदान’ले पाएको छ । मदन पुरस्कार गुठीको भदौ १४ गते शुक्रबार बसेको साधारणसभाले २०८० को मदन पुरस्कार मैनालीको मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।

२०८० सालमा प्रकाशित भएका पुस्तकमध्ये गुठीमा आवेनद परेका ३ सय ४ मध्येबाट यसअघि श्रेष्ठ ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो । जसमा मैनालीको ‘मुकाम रणमैदान’, भक्त स्याङतानको ‘डम्फुको आत्मालापु’ भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ जीवन क्षेत्रीको ‘नुन-तेल’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ रहेका थिए ।

साथै, मदन पुरस्कार गुठीले यस २०८० को जगजम्बा-श्री पुरस्कार प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय गरेको छ । नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योगदान गर्नुभएकोमा  यादवलाई वर्ष २०८० सालको जगदम्बा-श्री अर्पण गर्ने निर्णय गरेको हो । दुवै पुरस्कारको राशि ४-४ लाख रुपैयाँ रहेको छ ।

२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट वि.सं. २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा  चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो। २०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँको सम्झनास्वरूप जगदम्बा-श्री पुरस्कारको स्थापना गरिएको हो।

यो सम्मान पहिलोपटक स्वरसम्राट नारायण गोपाललाई अर्पण गरिएको थियो। नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्गमय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति र संस्थालाई जगदम्बा-श्री अर्पण गरिन्छ।

सम्बन्धित खबरहरु