आज भाद्र कुशे औंसी, आफ्ना पुजनीय पितालाई सम्मान प्रकट गर्दै मनाइँदैछ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भन्ने प्रचलन छ । आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिनको रुपमा लिईन्छ। कुशै औंसीका दिन पिता हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन्।

यता बुवा नहुनेले पिताको सम्झनामा तस्बिर हेरेर वा विभिन्न मन्दिर शक्तिपीठ, देवालय लगायतका पवित्र तिर्थस्थल पुगेर पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी आध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्दछन्।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यता अनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ। भाद्र कृष्ण औंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि गर्दछन्।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्।

सम्बन्धित खबरहरु