नेपालकै एक बृहत् कला प्रदर्शनी ‘हिमालयन आर्ट फेस्टिभल २०२४’ मा एकैसाथ १२० कलाकारका कलाकृति राखिएका छन्। नेपाल आर्ट काउन्सिलमा गत भदौ २३ अर्थात् आइतबारबाट सुरु भएको प्रदर्शनीमा एकैपटक १२० कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका हुन् ।

ई–आर्टस् नेपालले आयोजना गरेको महोत्सवमा कलाका विभिन्न विधालाई समेटिएको छ। महोत्सवमा नयाँ पुस्तादेखि वरिष्ठ कलाकारहरुका चित्रकला, मूर्तिकला, पौभा, सेरामिक आर्ट, इन्स्टलेसन, फोटोग्राफी लगायतका कलाकृति अवलोकन गर्न सकिनेछ।

आगामी भदौ २९ सम्म चल्ने हिमालयन आर्ट फेस्टिभलको यस सातौं संस्करणमा वत्सगोपाल वैद्य, मदन चित्रकार, शशिकला तिवारी, श्यामलाल श्रेष्ठ, विप्लव प्रतीक, सम्झना राजभण्डारी, मनिषलाल श्रेष्ठ, जुपिटर प्रधान, रवीन्द्र श्रेष्ठ, लय मैनाली, देवेन्द्र सिंख्वाल, कृष्ण मानन्धर, किरण मानन्धर, राजन काफ्ले, आशा डंगोल, एरिना ताम्राकार, संगी श्रेष्ठ, भाइराज महर्जन, प्रमिला बज्राचार्य, पृथ्वी श्रेष्ठ , विनोद प्रधान , सुष्मा राजभण्डारी , सीमा शाह, विधाता केसी, सागर मानन्धर, सरिता डंगोल, इशान परियार, सुन्दर लामा, पूजा दुवाल, हितेष वैद्य, वाङ लामा, सविता डंगोल, सुजन डंगोल, लगायतका कला अवलोकन गर्न सकिनेछ।

महोत्सवको पहिलो दिन वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्वउपकुलपति शारदा चित्रकारलाई सम्मान गरिएको थियो। उहाँले २०१४ देखि २०७० सालसम्म बनाउनु भएका चित्रकला पनि महोत्सवमा राखिएका छन्।

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रबर्धन गर्ने उद्देश्यसहित सन् २०१०मा स्थापना भएको ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दशैँको अवसर पारेर महोत्सवको आयोजना गर्दै आइरहेको छ। स्थानीय कलाकारहरू र उनीहरूका कलामार्फत सहकार्य गर्दै ई–आर्टस् नेपालले नेपाली संस्कृति र समाजबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास गर्दै आइरहेको छ । सुरुवातमा समसामयिक चित्रकला र मूर्तिहरुबाट सुरु गरिएको उक्त महोत्सवमा जम्मा ५० जना कलाकारहरुले सहभागिता जनाएका थिए।

सम्बन्धित खबरहरु