काठमाडौँ, भदौ ३१ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार साँझ क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडाको टोरन्टोमा यही असोज ३ र ४ (सेप्टेम्बर १९ र २०) मा आयोजना हुने महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उहाँ क्यानडा प्रस्थान गर्नुभएको हो ।
क्यानडा र जमैकाद्वारा आयोजना हुने सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ ।
उक्त सम्मेलनमा परराष्ट्रमन्त्री डा. राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरूमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
सो बैठकपछि मन्त्री डा. राणा अमेरिका प्रस्थान गर्नुहुने समेत जनाइएको छ । उहाँ अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनुहुने कार्यक्रम छ । सो महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल समेत सहभागी हुँदैछ ।
त्यसपश्चात मन्त्री डा. राणा अमेरिकाबाट कतारको दोहामा आगामी अक्टोबर २ र ३ मा आयोजना हुने एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने कार्यक्रम छ । सो सम्मेलनलाई परराष्ट्रमन्त्री डा. राणाले सम्बोधन गर्नुहुनेछ भने मन्त्री डा राणा आगामी अक्टोबर ४ मा स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
स्रोत : परराष्ट्र मन्त्रालय