काठमाडौँ असोज १५ गते । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैंकको सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले मङ्गलबार सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले बैंकप्रति आभार प्रकट गर्नुहुँदै बाढीपहिरो र डुबानले आम जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरिएको बताउनुभयो । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रुपमा एक अर्ब जम्मा गर्ने निर्णय गरेको थियो ।