असोज १८ गते, काठमाडौँ। करिब साढे ३ दशक अघिको चर्चित गीत ‘थाहै थिएन दिल आगो बिना नै जल्दोरहेछ’ को नयाँ भर्जन सार्वजनिक भएको छ । गीतकार बीबी थापाको शब्द रचना, गायक प्रदीपराज पाण्डेको स्वर तथा नातिकाजीको संगीतमा निर्मित उक्त गीतलाई अहिले गायिका अन्जु पन्तको आवाजमा पुनः रेकर्ड गरि सार्वजनिक गरिएको हो। उक्त रिमेक गीतलाई संगीतकार मनोज चौलागाईंले संगीत संयोजन गर्नुभएको छ भने प्रकाश मिश्रले मिक्सिंग मास्टरिङ्ग गर्नुभएको छ। यसअघि गीतकार बीबी थापाकै रचना रहेको ‘म तिम्रो शहर छोडी टाढा’ को रिमेक पनि अन्जु पन्तको स्वरमा सार्वजनिक गरिएको थियो जसमा संगीत संयोजन चौलागाईंले नै गर्नुभएको थियो।
सार्वजनिक भिडियोलाई निर्देशक नितिन चन्दले निर्देशन गर्नुभएको छ । भिडियोमा सन्दीप वस्ती र कविता न्यौपानेको जीवन्त अभिनय रहेको छ। पहिले रेकर्ड भएको गीत अडियो हिट भए पनि त्यो बेला अहिलेको जस्तो भिडियो निर्माणको चलन नभएकोले म्युजिक भिडियो निर्माण नगरिएको गीतकार थापाले बताउनुभयो। अहिले गीतको भाव अनुसार सुहाउँदो भिडियो निर्माण भएका कारण हाल नयाँपुस्ताका दर्शक श्रोताको पनि मन जित्नेमा गीतकार थापा ढुक्क हुनुहुन्छ।
नमित चन्द ठकुरीको एसोसियट निर्देशन रहेको भिडियोको छायाँकन नुवा संदेशले गर्नुभएको हो भने सम्पादन विजय कार्कीको रहेको छ। म्यूजिक भिडियो बीबी थापा इन्टरटेन्मेन्टको अफिसियल युट्यूब च्यानल मार्फत बिहिबार सार्वजनिक गरिएको हो । सोही च्यानलबाट यसअघि सार्वजनिक भएको म ‘तिम्रो शहर छोडी टाढा’ को रिमेक म्यूजिक भिडियोको हालसम्म ४८ लाख बढी भ्यूज पुगिसकेको छ ।