काठमाडौं, असार ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशका रणनीतिक रूपमा महत्वपूर्ण ग्यास र खनिज स्रोतहरूको उत्खनन तथा उपयोगको विषयमा आज सम्बद्ध अधिकारीहरूसँग विस्तृत जानकारी लिनुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको बैठकमा प्रधानमन्त्री ओलीलाई दैलेखको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानीको सम्भाव्यता तथा आगामी योजना बारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले अवगत गराएका हुन्।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा गरिएको पेट्रोलियम अन्वेषणको प्रारम्भिक प्रतिवेदनअनुसार दैलेखमा गरिएको ड्रिल साइटमा करिब ११२.१ अर्ब घनमिटर मिथेन ग्यासको भण्डार रहेको देखिएको जानकारी बैठकमा गराइएको थियो। साथै, अन्य क्षेत्रहरूमा पनि थप ग्यास स्रोत रहेको संकेत गरिएको छ। प्रधानमन्त्री ओलीले यो सम्भावनालाई अब कार्यान्वयनमा रूपान्तरण गर्नुपर्ने बताउंदै परीक्षण उत्पादन सुरु गरेर एक वर्षभित्रै उपयोगमा ल्याउने गरी आवश्यक तयारी गर्न निर्देशन दिनुभयो। उहाँले यस कार्यका लागि बजेट र सहजीकरणमा सरकारबाट कुनै कमी नहुने स्पष्ट समेत पार्नुभयो।
त्यसैगरी, पूर्वी नवलपरासीको धौवादी क्षेत्रमा भइरहेको फलाम खानी उत्खननको ड्रिलिङ कार्य र सम्भाव्यता अध्ययनबारे पनि जानकारी दिइएको थियो। कम्पनीको प्रस्तुतिअनुसार सो क्षेत्रमा करिब ९९ मिलियन टन फलामको भण्डार रहेको छ, जुन आगामी सय वर्षका लागि पर्याप्त हुने अनुमान गरिएको छ।
कम्पनीले यदि सबै प्रक्रिया नियमित रूपमा अघि बढेमा २०८५ सालभित्र फलाम-स्टिल उत्पादन गर्न सकिने लक्ष्य प्रस्तुत गरेको थियो। तर प्रधानमन्त्री ओलीले त्यो भन्दा पहिले नै उत्पादन सुरु गरी बजारमा ल्याउने गरी तयारी गर्न निर्देशन दिनुभयो। सरकार स्रोत, उपकरण र कानुनी संरचनाको सहजीकरण गर्न तयार रहेको उहाँको भनाइ थियो। बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, उद्योगमन्त्री दामोदर भण्डारी, दैलेख क्षेत्रका सांसदहरू लगायत सम्बन्धित निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो। सरकारले आन्तरिक स्रोत साधनको उपयोगमार्फत आत्मनिर्भर ऊर्जा र खनिज विकासको दिशामा रणनीतिक कदम चालेको संकेत यो बैठकले गरेको छ।