१५ असार, काठमाडौं । आज देशभर असार १५ अर्थात् राष्ट्रिय धान दिवस उत्साहपूर्वक मनाइँदैछ। कृषिप्रधान मुलुक नेपालमा यो दिनलाई विशेष महत्वका साथ दही–चिउरा खाने परम्पराले पनि चिनिन्छ।

खेतीपातीमा व्यस्त किसानले वर्षभरको भोजन सुनिश्चित गर्न असार महिनामा रोपाइँमा खटिनेगर्छन्। कामको थकान हटाउन र शरीरमा ऊर्जा सञ्चय गर्न दही–चिउरा खाने चलन रहेको विश्वास छ। खेतीबाहेक अन्य पेशा व्यवसायमा लागेकाहरूले पनि यो दिन दही–चिउरा खाएर असार १५ मनाउने गर्छन्।

विसं २०६१ मंसिर २९ गते मन्त्रिपरिषद्को निर्णयपछि २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। आज देशका अधिकांश भूभागमा असारे भाका गुञ्जिने गर्छन्। असारे भाका र हिलोमा छुपुछुपु धान रोपेका दृश्यले सबैलाई रोमाञ्चित बनाउने गर्छ । धान उत्पादनमा आत्मनिर्भरता बढाउन तथा कृषकको मिहिनेतलाई सम्मान गर्न पनि यो दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाईने गरिन्छ।
धान दिवसका मनोरम दृश्यहरु :

तस्वीर : हिलिम प्रोडक्सन