असोज ११, काठमाडौं । ‘जय श्री हारती माँः दाफाको भब्य प्रिमियर काठमाडौंमा असोज ९ गते सम्पन्न भएको छ । घिनताङ दाफा समाजले निर्णण गरेको म्युजिकल डकुमेन्ट्री बालबालिकाको देवीका रुपमा पुजिने माँ हारतिको कथामा आधारित रहेको छ । दाफा संगीतको प्रयोग गरेर निर्माण गरिएको म्युजिकल डकुमेन्ट्रीले मौलिक नेवा संस्कृतिबारे जानकारी दिएको घिनताङ दाफा समाजकी अध्यक्ष सारदा डंगोलले बताउनुभयो ।

नेवा समुदायको लोप हुँदै गएको संस्कृती जगेर्ना गर्ने हेतुले डकुमेन्ट्री बनाएको अध्यक्ष डंगोलले बताउनुभयो । कार्यक्रममा लेखक तथा समालोचक प्रकाश सायमीले ऐतिहासिक र मौलिक संकृतिलाई कथामा ढाल्नु निकै चुनौतिपूर्ण भएको बताउदै समुहले गरेको प्रयासको प्रशंसा गर्नुभयो ।


कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र डकुमेन्ट्री निर्माणमा सहयोग गरेको त्यंग त्वाः खलः लाई सम्मान गरिएको थियो । परम्परागत रुपमा चलिआएको नेवारी लोक कथालाई आधार मानेर बनाइएको दृष्यकथा ४५ मिनेटको रहेको छ । न्युरोड स्थित रञ्जना सिनेप्लेक्समा भएको प्रिमियरमा ५ सय जनाले डकुमेन्ट्री हेरेका थिए ।


‘जय श्री हारती माँः दाफा’का पटकथाकार तथा निर्देशक दर्शन विर शाक्यले नयाँ पुस्ता र अन्य गैर–नेवारले समेत बुझ्ने गरेर दृष्यभाषामा कथा भन्ने प्रयास गरेको बताउनुभयो । दृष्यकथामा कलाकार मदनकृष्ण श्रेष्ठ, प्रेमा शाक्य, सुजन बज्राचार्य, सुजिना शाहि, रोजिना सुवाल, किशोर चिपलु, नविन थिच्व्मल, रविन्द्र तुलाधर, विपश्याना शाक्य, देस्ना शाक्य, बिन्सा महर्जन, सनज डंगोल, श्रीजना शाहि, प्रविना श्रेष्ठ, रिकेश शाहि, अञ्जली शाहि, अर्की शाहि, राजेश श्रेष्ठ, सिताराम माका, जिवन तिवारी, विक्रम खड्गी, रमन महर्जन, सुनेश श्रेष्ठ, उज्वल शाहिको अभिनय रहेको छ ।


त्यस्तै दाफा गाउनेमा गायकहरु दीपेन्द्र बज्राचार्य, त्रि रत्न मानन्धर, रमेश डंगोल र विनय महर्जन रहेका छन् । त्यस्तै, गायिकाहरु पुष्पा पलाञ्चोके, बबिता बज्राचार्य, मिना प्रजापति र सिल्भिया प्रजापति रहेका छन् । बाजाहरुमा खिन बजाउने श्रद्दा डंगोल र रमेश डंगोल, पोङ्ग बजाउने राकेश महर्जन, बेस गीतार रिजु तुलाधर, आर्कष्टिक गीतार फिरोज बज्राचार्य, ताः, तिन्चु , बाबुचा बजाउनेमा श्री रत्न महर्जन रहनुभएको छ । पहिलो पटक रेकर्ड गरिएको यस दाफाको रेकर्डिष्ट विनय महर्जन र मिक्सिङ् र मास्टरिङ् फिरोज बज्राचर्यले गर्नुभएको हो ।

सम्बन्धित खबरहरु