
काठमाडौँ, असोज २८ गते । मुलुकमा उत्पन्न पछिल्लो सुरक्षा अवस्था र बाह्य सुरक्षा चुनौतीबारे छलफल भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा सोमबार परिषद्को ४० औँ बैठकमा सुरक्षा चुनौतीबारे छलफल भएको हो।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, मुख्य सचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल र रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालको उपस्थिति थियो। त्यस्तै प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीसमेतको उपस्थिति थियो।
राष्ट्रिय सुरक्षा परिषद्का सदस्यसचिव एवं रक्षा सचिव अर्यालले सुरक्षा परिषद्को बैठकमा मुलुकको वर्तमान सुरक्षा अवस्था, अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षालगायत समसामयिक विषयमा समीक्षा गरिएको जानकारी दिए।