
कात्तिक १४ गते । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण ले काठमाडौं क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गा र मापदण्डविपरीत बनेका संरचना हटाउन सात दिनको समयसीमा तोकेका छन्। दुई संस्थाको २ असोजमा बसेको संयुक्त बैठकले सार्वजनिक सम्पत्ति र जग्गा संरक्षणका लागि तत्काल कदम चाल्ने निर्णय गर्दै अत्यन्त जरुरी सूचना जारी गरेको हो।
सूचनाअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नपाइने र सो ऐनको दफा ९७ अनुसार सार्वजनिक सम्पत्ति संरक्षण तथा व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको भएकाले, ऐनविपरीत बनेका संरचना सात दिनभित्र स्वतः हटाउन आग्रह गरिएको छ। तोकिएको समयभित्र अतिक्रमण वा मापदण्डविपरीतका संरचना नहटाए कानूनी कारबाही गरी बलपूर्वक खाली गराउने चेतावनी दिएको छ।