काठमाडौँ, कात्तिक २५ गते । आज काठमाण्डौ उपत्यकामा यसवर्षकै न्यून तापक्रम मापन भएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव १ डिग्री सेल्सियसमा झरेको हो । काठमाण्डौमा हिजो न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको थियो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम १० देखि १२ डिग्री सेल्सियसकोबीचमा रहने अनुमान छ । त्यस्तै जुम्लामा अहिले बिहानको न्यूनतम तापक्रम माइनस २.४ डिग्री सेल्सियस मापन भएको छ ।
आज जुम्लामा न्युनतम तापक्रम माइनस तीन डिग्री सेल्सियससम्म झर्न सक्ने अनुमान छ । देशका अरू धेरै ठाउँमा पनि चिसो बढ्न थालेको छ । दिउँसो मौसम सफा भएर घाम लाग्ने गरे पनि बिहान र बेलुका चिसो हुन थालेको हो ।
अबका दिनमा रातमा तापक्रम औसत भन्दा २ देखि ४ डिग्री सेल्सियसले तल झर्ने सम्भावना देखिएको हुँदा चिसोबाट जोगिन विज्ञको आग्रह छ । विपद् तथा जलवायू विज्ञ डा. धर्मराज उप्रेतिले न्यानो लुगा लगाउन र चिसोबाट जोगिन आग्रह गर्नुभएको छ ।