पुस १७ गते, काठमाडौं । १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाहरुद्धारा यो दिवस मनाउन थालिएको हो ।
नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
त्यस्तै ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।