काठमाडौँ, फागुन १२ गते। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी ‘साम्बा’ले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ।

सोमबार फेसबुकमार्फत उहाँले एसीएल ग्राफ्ट र एमसीएलमा चोट लागेकाले जटिल शल्यक्रिया आवश्यक रहेको र उपचार तथा करिब ७–८ महिनाको रिह्याबका लागि करिब ८० हजार अमेरिकी डलर खर्च हुने बताउनुभएको हो। अपेक्षित संस्थागत सहयोग नपाएपछि समर्थकहरूसँग सहयोग माग्नुपरेको उहाँको भनाइ छ।

यसैबीच नेपाली कांग्रेसले उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। पार्टी उपसभापति विश्वप्रकाश शर्मा ले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लाई जानकारी गराउँदै सहयोग गर्ने बताउनुभएको हो। साथै पूर्व एन्फा अध्यक्ष गणेश थापा ले ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ भने काठमाडौं मेडिकल कलेजले नेपालमै उपचार गराए निःशुल्क उपचार गर्ने जनाएको छ। साथै साम्बाका शुभचिन्तकहरुद्वारा पनि व्यक्तिगत रुपमा सहयोग जुटिरहेको छ ।

‘साम्बा’ले कठिन अवस्थाबाट पनि पुनः राष्ट्रिय टोलीमा फर्किने विश्वास व्यक्त गर्नुभएको छ।

Photo Source : ANFA

सम्बन्धित खबरहरु