काठमाडौँ, फागुन १३। सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयो।

निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएका प्रहरीको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने र सो अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने पनि निर्णय गरिएको उहाँले बताउनुभयो।
बैठकले १६ औँ योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२–२०८५/८६) स्वीकृत गर्नुका साथै विक्रम संवत् २०८३ सालका लागि वैशाख १ देखि चैत मसान्तसम्मका सार्वजनिक बिदा निर्धारण गरेको छ।
यस्तै, चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्राप्त हुने चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय पनि गरिएको छ।
ऊर्जा क्षेत्रतर्फ बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरिएको छ भने केरावारी–न्यू मर्स्याङ्दी, माथिल्लो जुनबेँशी खोला र सेती खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न तथा रुख कटान गर्न स्वीकृति दिइएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो।
त्यसैगरी, ‘जेनजी परिषद्’ गठन गर्ने, नेपाल सरकारका सचिवद्वय डा. रामप्रसाद घिमिरे र डा. हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिँदै धन्यवाद व्यक्त गर्ने तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई फ्रान्समा हुने २१ औँ इन्टरपोल सम्मेलनमा सहभागी हुन स्वीकृति दिने निर्णयसमेत बैठकले गरेको छ।
बैठकका निर्णय :
