काठमाडौँ, फागुन २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डि.पी. अर्यालले निर्वाचन परिणाम पश्चात विजय उत्सवका नाममा र्याली, अबिर जात्रा र जुलुस नगर्न कार्यकर्ता तथा समर्थकलाई अपिल गर्नुभएको छ।
काठमाडौँ क्षेत्र नम्बर ९ बाट उम्मेदवार समेत रहनुभएका अर्यालले देशभरबाट घण्टी चुनाव चिन्ह लिएर उम्मेदवार बनेका पार्टीका प्रतिनिधिहरूलाई मतदाताले मतदान गरी निर्वाचित बनाइरहेकोमा मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले मतदातासँग भेटघाट गर्ने, खुसी साटासाट गर्ने र घरदैलोमा र्याली गर्ने इच्छा स्वाभाविक भए पनि हालको परिस्थितिमा त्यस्तो उत्सव मनाउने अवस्था नरहेको बताउनुभयो।
उहाँका अनुसार पछिल्लो समय भएका दुःखद घटनामा साना नानीबाबुहरूले ज्यान गुमाएको पीडा अझै ताजा रहेकाले विजय उत्सव मनाउनु उपयुक्त नहुने बताउनुभयो। साथै विदेशमा रहेका नेपालीहरूले नेपालमा सुशासन कायम होस् र भ्रष्टाचारको अन्त्य होस् भन्ने अपेक्षासहित दिएको साथ र सहयोगलाई पनि गम्भीर रूपमा लिनुपर्ने उहाँको भनाइ छ।
अर्यालले जनताले सरकार बनाएर जनताको पक्षमा काम गर्न म्यान्डेट दिएको उल्लेख गर्दै अहिलेको प्राथमिकता उत्सवभन्दा पनि काममा केन्द्रित हुनु पर्ने बताउनुभयो। उहाँले भन्नुभयो “हामीले काम गरेर देखाएपछि मतदातासँग भेटघाट गर्ने, धन्यवाद दिने र खुसी साटासाट गर्ने दिन अवश्य आउनेछ । ” उहाँले मतगणना स्थलमा उपस्थित भई मतदातालाई धन्यवाद दिन सकिने भए पनि र्याली, अबिर जात्रा, फुलमाला सहितको जुलुस वा मोटरसाइकल र्याली नगर्न सबैलाई आग्रह गर्नुभयो।
यो अपिल पार्टी सभापति रवि लामिछाने तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनअनुसार गरिएको पनि उहाँले जानकारी दिनुभयो।