काठमाडौँ, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजुनाथ पाण्डे १८ हजार ७५७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गर्नुभएको छ। पाण्डे र घिसिङबीच ७ हजार ५८६ मतान्तर रहेको छ।
यसैगरी रमेश अर्यालले ६ हजार मत प्राप्त गर्नुभएको छ भने रामेश्वर फुयालले ३ हजार ८१६ मत ल्याउनुभएको छ। निर्वाचन कार्यालयका अनुसार सुन्दर राम बोहराले ८४१ मत प्राप्त गर्नुभएको छ भने निरज लामाको पक्षमा न्यून मत खसेको छ।
त्यसैगरी, काठमाडौँ क्षेत्र नम्बर ७ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुली विजयी हुनुभएको छ। उहाँले २७ हजार ८०५ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ। यो उक्त क्षेत्रमा उहाँको दोस्रो जित हो। यसअघि २०७९ को निर्वाचनमा पनि उहाँ निर्वाचित हुनुभएको थियो।
उहाँका निकटतम प्रतिस्पर्धी प्रमोदहरि गुरागाईंले ३ हजार ९८२ मत प्राप्त गर्नुभएको छ। बसन्त मानन्धरले ३ हजार ६६७ मत प्राप्त गर्दा प्रकाश श्रेष्ठले ३ हजार ५४४ मत ल्याउनुभएको छ। त्यसैगरी विमला तामाङले १ हजार ३८३ मत र लालकुमार तामाङले १ हजार ३८१ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी, काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी हुनुभएको छ । उहाँले ३७ हजार ४ सय ६९ मत प्राप्त गर्नुभएको छ । निकट प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हिमाल कार्कीले ८ हजार १ सय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार खसेको कुल मत मध्ये दुई हजार ९३ मत बदर भएको छ । सो क्षेत्रको समानुपातिक तर्फको मत शनिबारबाट गणना गरिने जानकारी समेत उहाँले दिनुभयो ।