दमक, फागुन २३ गते । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार शाहले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै जित हासिल गर्नुभएको हो ।
निर्वाचन अधिकृतका अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्नुभएको छ भने ओलीले १८ हजार ७३४ मत पाउनुभएको छ । दुवैबीचको मतान्तर ४९ हजार ६१४ रहेको छ ।
यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहँदै नौ हजार २३३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसकी मन्दरा चिमरियाले एक हजार ८२१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लक्ष्मीप्रसाद संग्रौलाले एक हजार ५३६ र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले एक हजार ४६१ मत प्राप्त गर्नुभएको छ ।
अन्तिम मतपरिणाम घोषणा हुनुअघि मतगणनास्थल र आसपासका क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको थियो । विजयी प्रमाणपत्र ग्रहण तथा विजय घोषणा कार्यक्रममा सहभागी हुन शाह मतगणनास्थल पुग्दा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गरिएको थियो ।