
१३ चैत २०८२, शुक्रबार । आज देशले नयां प्रधानमन्त्री पाउदैछ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय भएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो । राष्ट्रपति कार्यालयमा आज दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा शाहले प्रधानमन्त्रीको शपथ लिने तयारी गर्नुभएको छ ।
शपथग्रहण कार्यक्रममा ७ वटा शंखबाट शंखनाद, १०८ बटुकबाट स्वस्ति शान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठको व्यवस्था गराउन रास्वपाले राष्ट्रपति कार्यालयलाई आग्रह गरेको छ । शपथग्रहणपछि शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा करिब २स्१५ बजे पदभार ग्रहण गर्ने तय भएको रास्वपाले जनाएको छ ।
प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित ३६ वर्षीय शाहले झण्डै दुईतिहाई बहुमतको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । रास्वपाले हिजो उहाँलाई संसदीय दलको नेता चयन गरेको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ ।