मंसीर १४, काठमाडौं । दोस्रो आइवर्ट वुमन सर्ट मुभी कम्पिटिसन २०२० मा दुइ लघु चलचित्रले प्रथम स्थान हासिल गरेको छ । इन्टरनेसनल एसोसिएसन अफ वीमेन इन रेडियो एण्ड टेलिभिजन, नेपाल च्याप्टर (IAWRT Nepal) को आयोजनामा भर्चुअल जूम माध्यमबाट आइतबार भएको कार्यक्रममा संगीता श्रेष्ठ निर्देशित ‘आइसक्रिम’ र रजिला श्रेष्ठ निर्देशित ‘लाखे’ प्रथम भएका हुन् । निशा मानन्धर निर्देशित ‘आई एम अ फाइटर’ले भने दोस्रो स्थान हासिल गर्न सफल भयो ।

प्रथम स्थान हासिल गरेका दुई चलचित्र ‘आइसक्रिम’ र ‘लाखे’ ले संयुक्त रुपमा २५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस पटक जम्मा ८ वटा चलचित्रले प्रतिस्पर्धाका लागि सहभागिता जनाएको थियो ।

उक्त प्रतिस्पर्धाका लागि चलचित्र निर्देशक तथा ओस्कर कलेजका निर्देशक एवं प्रधानाध्यापक बिनोद पौडेल, निर्देशक तथा स्क्रीप राईटर सम्पदा मल्ल र अभिनेत्री उषा रजक निर्णायक भूमिकामा रहेका थिए । कार्यक्रममा निर्णायक बिनोद पौडेलले विजयी ३ चलचित्रको घोषणा गर्नुभएको थियो । निर्णायक सम्पदा मल्लले चलचित्र पढेर आएका व्यक्तिहरु संलग्न हुन थालेकोले यस क्षेत्रमा निखार आएको प्रति खुशी व्यक्त गर्दै महिला निर्देशकलाई घरबाट राम्रो सहयोग मिलेको खण्डमा अझै धेरै राम्रो उपलब्धी हासिल गर्न सकिने बताउनुभयो ।

चलचित्र क्षेत्रमा महिलाको सहभागिता बढाउन तथा महिलामा भएका अन्तरनिहित क्षमता बिकासका लागि सर्ट मुभी कम्पिटिसन गरिंदै आएको र आगामी दिनमा संचार क्षेत्रका महिलाका नेतृत्व र व्यक्तित्व बिकासका लागि कार्यक्रमलाई निरन्तरता दिने संस्थाकी अध्यक्ष मण्टेश्वरी राजभण्डारीले बताउनुभयो ।

सम्बन्धित खबरहरु