काठमाडौं, ३० फागुन । लेजरपोर्ट नेपालद्वारा आयोजित काठमाडौं पिंक केयराथन २०२६ शनिबार जावलाखेल फुटबल मैदानमा सम्पन्न भएको छ। महिला सशक्तिकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

संस्थाका अध्यक्ष नमराज जोशीका अनुसार कार्यक्रम बिहान ६ बजे जुम्बा सत्रबाट सुरु भई त्यसपछि विभिन्न दूरीका दौड प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा २१.१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर दौड तथा ५ र ३ किलोमिटरका फन रन समावेश गरिएको थियो।

हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ (नेपाल रन, धादिङ) प्रथम, राज्यलक्ष्मी रावल (नेपाल आर्मी) द्वितीय र सरस्वती भट्टराई (नेपाल आर्मी) तृतीय भएका छन्। त्यस्तै १० किलोमिटर दौडतर्फ निर्मला केसी (नेपाल आर्मी) प्रथम, आशा राउत (सशस्त्र प्रहरी) द्वितीय र सुमित्रा चौधरी (नेपाल प्रहरी) तृतीय भएका छन्।

हाफ म्याराथनका विजेताहरुलाई क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। १० किलोमिटर दौडका विजेतालाई क्रमशः ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ नगद पुरस्कारसहित विभिन्न उपहार प्रदान गरिएको आयोजकले जनाएको छ। ५ र ३ किलोमिटर फन रनतर्फ उत्कृष्ट १०/१० जनालाई आकर्षक उपहार प्रदान गरिएको थियो।

कार्यक्रममा मुम्बईबाट आएका गायक जनिष्ट जोशीले सांगीतिक प्रस्तुति दिएका थिए। अध्यक्ष नमराज जोशीका अनुसार सन् २०१७ देखि निरन्तर आयोजना हुँदै आएको उक्त कार्यक्रममा यस वर्ष एक हजारभन्दा बढीको सहभागिता रहेको थियो।

सम्बन्धित खबरहरु