
काठमाडौं, २० असोज २०८२। नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात बडादसैँ पर्व आज देखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ ।
आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।
आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ । आज बेलुकी अखिल (सबै) बलि पूर्ति नभएसम्म देवीको प्रसादको रुपमा दशैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
आज बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ ।