काठमाडौँ, २०८२ असोज २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने प्रपञ्चमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लिची बगानको १ सय ३४ रोपनी जग्गा हडप्ने योजनासहित घूस डिल गरिएको अडियो गत असारमा सार्वजनिक भएपछि अनुसन्धान थालेर अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । एमाले नेतासमेत रहेका पूर्वसामान्य प्रशासनमन्त्री गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठलाई ७८ लाख रुपैयाँका दरले बिगो मागदाबी गर्दै मुद्दा चलाइएको छ ।

तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीविरुद्ध ५३ लाख, बिचौलिया सुजनकुमार तामाङविरुद्ध ७८ लाख, प्रकरणमा संलग्न देखिएका खेमबहादुर पुनविरुद्ध २५ लाख, यामकुमारी गुरुङ र तुल्सीराम बुढामगरविरुद्ध ७८–७८ लाखका दरले बिगो माग गरिएको छ । मुद्दा चलाइएका सातै जनाविरुद्ध भ्रष्टाचार निवारण आयोग ऐनअनुसार कैद सजाय गर्न पनि अख्तियारले मागदाबी गरेको छ ।

पुस २०८१ मा घूस लेनदेन हुँदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रहेका एमाले नेता अधिकारी र पूर्वसचिव पोखरेलमाथि भने छुट्टै अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबरहरु