काठमाडौँ, असोज २६ गते । ‘सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२’ कार्यान्वयनमा आएपछि सामाजिक सुरक्षा वितरण प्रणालीलाई सहज, सुलभ र पारदर्शी हुने देखिएको छ । कार्यविधि कार्यान्वयनमा आएसँगै यसअघि एउटै व्यक्तिले दोहोरो सामाजिक सुरक्षा भत्ता लिने, मृत्यु भइसकेका व्यक्तिको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण हुने, भत्ता लिन विभिन्न झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्नेलगायतका समस्याको अन्त्य भएको छ ।

सरकारले करिब ३८ लाख नेपालीलाई विभिन्न आठ वटा शीर्षकमा वार्षिक एक खर्ब १२ अर्ब रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपाङ्गता भत्ता, लोपोन्मुख जाति, बाल पोषण भत्ता, आफ्नो हेरचाह आफैँ गर्न नसक्नेलाई स्याहार भत्ता, विपन्न नागरिक भत्ता अशक्त र असहाय भत्ता वितरण गर्ने गरिएको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र सहज बनाउने उद्देश्यसहित ‘सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२’ कार्यान्वयनमा आइसकेको जानकारी दिनुभयो ।
महानिर्देशक कट्टेलका अनुसार कार्यविधिले राज्यकोषबाट दोहोरो सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्दै सरकारी वा सार्वजनिक पदमा बहाल रहेका वा सरकारी कोषबाट पारिश्रमिक वा निवृत्तिभरण पाइरहेका व्यक्तिले यो भत्ता नपाउने व्यवस्था गरेको छ । नयाँ कार्यविधिले भत्ता वितरणलाई पूर्ण रूपमा ‘डिजिटलाइज’ गरेको छ ।

यस कार्याविधिले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरे पनि अपाङ्ता भएका व्यक्ति, बालबालिका, असहाय, अशक्त र ९० वर्षभन्दा माथिको नागरिकको हकमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगरेको उहाँले जानकारी दिनुभयो ।
अब भत्ता लाभग्राहीको हातमा नभई सोझै बैङ्क खातामा जम्मा हुने छ । यसअघि स्थानीय तहले भत्ता नगद वितरण गर्दै आएका थिए । पहिलो, दोस्रो, तेस्रो र चौथो त्रैमासिक क्रमशः कात्तिक ७ गते, माघ ७ गते, वैशाख ७ गते र असार मसान्तभित्र खातामा जम्मा गरिसक्नुपर्ने हुन्छ । मासिक रूपमा वितरण गर्दा हरेक महिनाको सात गतेभित्र रकम खातामा पठाइसक्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

सम्बन्धित खबरहरु