
काठमाडौं । इन्टरनेसनल एसोसिएसन अफ रेडियो एण्ड टेलिभिजन, आइवर्ट नेपालको अध्यक्षमा दोस्रो कार्यकालको लागि इच्छा गुरुङ निर्वाचित हुनुभएको छ । आइवर्ट नेपालको शनिबार भएको साधारण सभाबाट अध्यक्षमा इच्छा गुरुङ, उपाध्यक्षमा सन्ध्या थापा, सचिवमा मनिता पोखरेल, कोषाध्यक्षमा शिलु अधिकारी साथै बोर्ड सदस्यमा संगिता श्रेष्ठ, निशा मानन्धर र संतोषी पौडेल निर्वाचित हुनुभएको हो ।

दोस्रो कार्यकालको लागि पदभार ग्रहण गर्दे नवनिर्वाचित अध्यक्ष इच्छा गुरुङले नेपाली सञ्चार जगतमा कार्यरत महिला पत्रकारहरुको लागि थप उर्जा र शसक्तिकरणको लागि निरन्तर कार्यगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
संसारभरी छरिएर रहेका महिला संचारकर्मीहरूलाइ एकजुट गराउने उदेश्यले सन १९५७ मा गठन गरिएको विश्वव्यापी संस्था हो । हाल १२ वटा देशहरुमा क्रियाशिल च्याप्टरहरुमध्ये आइवर्ट नेपाल च्याप्टर सन् २००७ मा प्रख्यात सञ्चारकर्मी बन्दना राणाको पहलमा नेपाल मा शुरु भएको हो । हाल विश्वभर ५२ राष्ट्रमा आइवर्टका सदस्यहरु रहेका छन् ।

आइवर्टको स्थापनाको मुख्य उदेश्य संचारका विभिन्न माध्यमलाइ पेशा बनाइ आफनो जिबन र करियर अघि बढाइ रहेका महिला संचारकर्मीहरुलाइ क्षमता अभिवृद्धी, हौसला तथा प्रोत्साहन दिनु हो । सञ्चार जगतमा कार्यरत महिलाहरुको न्यायोचित भूमिका सुनिश्चित गर्ने, कार्यक्षेत्रमा लैङ्गिक अन्तर घटाउन तथा मिडियामा उनिहरुको उपस्थितिलाइ बलियो बनाउने लक्ष्य सहित आइवर्टले विश्वव्यापी नेटवर्कींगको आधारमा सशक्त भुमिका निभाउदै आइरहेको छ ।
