काठमाडौँ, पुस ३० गते । नेपालले प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह (नानो स्याटेलाइट) मुनाल अन्तरिक्षमा अड्किएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को पहल र छिमेकी मुलुक भारत सरकारको सहयोगमा सोमबार प्रक्षेपण गरिएको नानो स्याटेलाइट मुनाल अन्तरिक्षको सही अर्बिटमा नपुगी मोडिएर अड्किएको हो ।
भारतको विदेश मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको पहलमा श्रीहरिकोटस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट सोमबार बिहान करिब १०ः३० बजे मुनाल भूउपग्रह प्रक्षेपण भएको थियो ।
काठमाडौँ विश्वविद्यालय तथा विभिन्न विद्यालयका उच्च माध्यमिक तहका विद्यार्थीले उक्त भूउपग्रह निर्माण गरेका थिए । प्रक्षेपणका लागि नास्टका उपकुलपति डा. दिलीप सुब्बा, सदस्यसचिव डा. रवीन्द्र ढकाल र भूउपग्रह निर्माणका लागि सहयोग गरिरहेका इन्जिनियर हरिराम श्रेष्ठ भारत पुग्नुभएको थियो । मुनालको असफलतापछि अब परिमार्जनसहित ‘मुनाल टु’ भूउपग्रह निर्माण गर्ने जिम्मेवारी नास्टले लिएको छ ।
नास्टले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको गौरवका रूपमा नेपालभित्रै मुनाल भूउपग्रह निर्माण गरिएको भूउपग्रह रहेको जनाएको छ । अन्तरिक्षको प्रक्षेपणको पारम्भिक चरण सफल भए पनि रकेटको तेस्रो चरणको सञ्चालनमा समस्या आउँदा उडान विचलित हुँदै अन्यत्र मोडिएको जनाइएको छ ।
सो भूउपग्रहले वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण र कृत्रिम बौद्धिकता (एआई) मा आधारित तथ्याङ्क विश्लेषण तथा प्रशोधनमा सघाउने अपेक्षा गरिएको थियो ।