काठमाडौं। “टुगेदर फर चेन्ज, टुगेदर फर हेरिटेज” भन्ने मूल नाराका साथ नव वर्ष ०८३ तथा २५७०औँ बुद्ध जयन्तीको अवसरमा आयोजित ‘मैति सोसियल रन ८३’ सफलतापूर्वक सम्पन्न भएको छ। गत शुक्रबार काठमाडौंको मैतीदेवीमा ‘हामी छौं समाज नेपाल’द्वारा आयोजित ‘मैति सोसियल रन ८३’ मा ३ किलोमिटर दूरीको सामुदायिक दौडको आयोजना गरिएको थियो जसमा विभिन्न उमेर समूहका सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममार्फत स्वास्थ्य प्रवर्द्धन, सामाजिक एकता तथा जनचेतना अभिवृद्धिमा विशेष जोड दिइएको आयोजकले जनाएको छ।

प्रतिस्पर्धा अन्तर्गत ५५ वर्षमाथिको भेट्रान समूहमा वीरेन्द्रराज बज्राचार्यले १० मिनेट ५९ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण पदक जिते। सोही समूहमा अनुपराज बज्राचार्य र अर्जुन राजवाहकले क्रमशः रजत र कांस्य पदक हात पारे।

खुल्ला महिलातर्फ सबिना विष्टले १४ मिनेट २६ सेकेण्डको समयसहित स्वर्ण जितिन्। सुनिता राईले रजत तथा बिभा गुरुङले कांस्य पदक जित्न सफल भए।

यस्तै, खुल्ला पुरुषतर्फ गौरव तण्डुकर ११ मिनेट ४७ सेकेण्डसहित पहिलो स्थानमा रहे भने प्रमेश मालाकर (११ मिनेट ४८ सेकेण्ड) दोस्रो र हिमेश शाक्य (१२ मिनेट ३३ सेकेण्ड) तेस्रो भए।

समग्र प्रतिस्पर्धामा सबैभन्दा छिटो समय कायम गर्दै वीरेन्द्रराज बज्राचार्य प्रथम घोषित भए।

कार्यक्रमका संयोजक प्रकाश ज्योति बज्राचार्यले “यो त सुरुवात मात्र हो, आगामी दिनमा अझ प्रभावकारी र व्यापक कार्यक्रमहरू आयोजना गर्ने लक्ष्य राखेका छौं,” भने। त्यस्तै, ‘हामी छौं समाज नेपाल’का अध्यक्ष राजाराम कपालीले “यस कार्यक्रमले स्वस्थ, एकताबद्ध र जिम्मेवार समाज निर्माणप्रतिको हाम्रो प्रतिबद्धता झल्काएको छ,” बताए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडौं महानगरपालिका-३० का अध्यक्ष दलबहादुर कार्कीको उपस्थिति रहेको थियो। उनले यस्ता समुदाय-आधारित कार्यक्रमहरूको निरन्तरतामा जोड दिँदै आयोजकको प्रशंसा गर्दै आगामी दिनमा अझै उत्कृष्ट कार्यहरु गर्न प्रेरित गरे ।

सोही कार्यक्रमका अवसरमा कपिलवस्तु आइरनम्यान, वुमेन नेसनल स्ट्रेन्थ लिफ्टिङ तथा आईबीपी च्याम्पियनसिप-२०८२ का स्वर्ण पदक विजेता एवं एनबीएम पावरलिफ्टिङ २०८१ का रजत पदक विजेता उपान्त्य महर्जनलाई सम्मानपत्र प्रदान गरिएको थियो।

सम्बन्धित खबरहरु