‘मान्छेहरुको आफ्नै चाहना खराब छ…भन्न त भन्दछन् सब जमाना खराब छ..’ निशा देशारले गाएको यो गीत एकताका खुब बज्थ्यो । डा.कृष्णहरि बरालले लेख्नुभएका यी शब्दहरुका भाव साँच्चै घत लाग्दा छन् । प्रचण्ड गर्मी हुँदा चिसो बियर, झरी पर्यो की मौसमले च्यालेन्ज गर्यो भन्दै कोदोको रक्सी, ह्विस्की, लोकल कुखुराको मासु, खसीको मासु आदि जोहो गर्ने गर्छन् । यसै प्रसंगमा एक कार्यक्रममा कुरा उठ्दा साथीको तर्क थियो, ‘त्यो त मान्छेको चाहनाको हुटहुटी होइन र भन्या मौसमको के दोष…? । खानै नहुने भन्न खोजेको त होइन तर यस्तै यस्तै असीमित चाहना बढ्दै गएपछि अनेकन गल्ती गर्दै जाने अनि दोष अरुलाई थुपार्दै जाने प्रवित्ति मान्छेहरुसँग स्वयम् मान्छेहरु नै अनविज्ञ हुँदा तिनका अनेकन गल्तीहरुले प्रश्रय पाइरहेका छन् ।

अर्को सानैदेखि सुन्दै आएको प्रचलित भनाई समाजमा खुब हिट छ ...नाँच्न नजान्ने आँगन टेंढो…। एकपटक एकजना मेरो साथी मेरै स्कुटर लिएर बाहिर गएको थियो । एकछिनपछि कालै अलकत्रा पूरै लुगाभरी लिएर आयो । साथीको घुँडा, हात पनि धसारिएको… यसो हेरेँ स्कुटरको देब्रे भाग पनि धसारिएको देखेँ । ‘हत्तेरिका ! अलिकति अगाडि बाटो पिच गर्दै रहेछ, बाटोभरि अलकत्रा पोख्या रहेछ, त्यही भएर लडेँ नि नत्र कहाँ यस्तो हुन्थ्यो र …’ भन्दै बाटो पिच गर्नेहरूलाई भयंकर गाली गर्यो । त्यतिबेला त साथीलाई लडेर दुखेको थियो केही भनिनँ । नजिकै मेडिकल लगेर घाउ सफा गरेर ब्यान्डेज गरियो । अर्को पटक भेट्दा भने किन बाँकी राख्थेँ र ‘पिच बनाउँदै गरेको बाटोमा प्रवेश निषेध लेखेको बोर्ड देख्दादेख्दै अगाडि जाने अनि तिमी नचिप्लिए म चिप्लिन्छु त ? नजिकै वैकल्पिक बाटो हुँदाहुँदै खुब हुँइकेको होइन तिमी…बेकारमा किन गाली गर्नु पिच बनाउनेलाई यस्तैलाई भन्छ नाच्न नजान्ने आँगन टेंढो…।’ उसलाई आफ्नो गल्ती महशुस भएछ, मुसुक्क मुस्कुरायो । त्यो दिन साथी रिसाउला भनेर तातो मसला चिया बनाएर पिलाएँ ।

‘अल्पज्ञान सबैका लागि घातक हुन्छ ।’ हाम्रो समाजमा धरै समस्या अल्पज्ञानले गर्दा भएको हो भन्ने गरिन्छ । लोककथा अनुसार बाघलाई बिरालोले रुख चढ्न सिकायो रे, तर झर्न सिकाएनछ । झर्न नजानेर बाघ रुखबाट खुरमुरिँदै खसेछ । क्रुद्ध बाघले तलाई जहाँ भेटेपनि छोड्दिन भनेछ । बिरालोले मलाई त के भेट्छस् र मेरो दिसा पनि भेट्दैनस् भनेछ । यस्ता उदाहरणले अल्पज्ञानले मान्छे स्वयम्लाई आवेश, रिस र भ्रम सिर्जना गरी मान्छेलाई दिग्भ्रमित गराउँछ । जुन अन्ततः घातकसिद्ध हुन्छ ।

आजकल उखान, टुक्का, भनाइसँग हरेक नेपाली अभ्यस्त नभएको को नै होला र ! कति त त्यसैमा रमाइरहेको पनि नदेखिएको होइन । लोक उखान छ निः मेरो गोरुको बारै टक्का । अरुको कुरै नसुन्ने, आफूले भनेको कुनैपनि हालतमा हुनैपर्ने नभए जस्तोसुकै निचतामा पनि प्रस्तुत हुनसक्ने । कुनै बिषयमा सबैको एकमत हुनैपर्छ भन्ने हुँदैन तर सबै विचार मन्थनपछि आएको निचोडलाई स्वीकार्न सक्ने को छ र यहाँ ? त्यही मन्थन र निचोडलाई स्वीकार्न नसक्दा अरु त के नेपालका राजनीतिक पार्टीहरु र ब्यक्ति ब्यक्ती नै टुक्रिएर कुन हविगत छ त्यो त स्पष्ट नै छ । यहाँ त नीतिको भन्दा पनि मान्छे मान्छेबीचको अहँमताको लडाई छ, जुन देशको लागी नै घातक भएको उदाहरण राजनैतिक नेताहरुको गतिविधीहरुले प्रष्ट पारेको छ ।

परिवर्तनमा बिचार संघर्षको अपिरिहार्यता छ । तर स्वस्थ बिचारहरुको मन्थन भन्दा यहाँ बिशाक्त सोचहरुका कारण बिचार संघर्षले नकरात्मक बाटो लिंदा समाजमा सद्भाव भन्दा घृणा तिरस्कार, द्वेष, कलहले राम्रोको लागि होइन नराम्रो परिणामको संकेत गरिरहँदा पनि समृद्ध नेपालको नारा लोकप्रिय छ यहाँ ।

-इच्छा गुरुङ

सम्बन्धित खबरहरु