काठमाडौँ, फागुन २३ गते । काठमाडौँ जिल्लाका सबै १० वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू विजयी भएका छन् । शनिबार बिहानसम्म प्राप्त मतपरिणाम अनुसार काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं. २ मा रास्वपाका सुनिल केसी ३४ हजार २३८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्मा ८ हजार ८७४ मतसहित दोस्रो स्थानमा रहनुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीदेवी पोखरेलले ५ हजार २१० मत प्राप्त गर्नुभयो । यसअघिको निर्वाचनमा भने सोही क्षेत्रबाट रास्वपाकी सोविता गौतम निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी, काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ मा पनि रास्वपाका पुकार बम २९ हजार १४२ मतसहित निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले ८ हजार ८२४ मत प्राप्त गर्नुभयो भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजन भट्टराईले ५ हजार ७३३ मत ल्याउनुभयो ।
यससँगै काठमाडौँका सबै १० निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिन स्विप’ गरेको छ । यसअघि नै काठमाडौँ–१ मा रञ्जु न्यौपाने, ३ मा राजुनाथ पाण्डे, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रताप विष्ट विजयी भइसकेका छन् ।