काठमाडौं, १२ फागुन । महिलाहरूको स्वास्थ्य, फिटनेस तथा आत्म–सचेतनामा अभिवृद्धि गर्ने उद्देश्यले यही फागुन ३० गते (मार्च १४) काठमाडौंमा “काठमाडौं पिंक केयरएथन” आयोजना गरिने भएको छ। कार्यक्रमको आयोजना लेजर पोर्ट नेपालले गर्न लागेको हो।

महिलाहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्यसहित आयोजना गरिने यस केयरएथनमा महिलाहरूको दौड, जुम्बा तथा अन्य विभिन्न आकर्षक स्वास्थ्यसम्बन्धी गतिविधिहरू समावेश गरिनेछन्। आयोजकका अनुसार कार्यक्रममा जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्नेछन्।

आयोजक संस्थाका अध्यक्ष नमराज जोशीका अनुसार घरायसी कामकाज र दैनिक जिम्मेवारीमा व्यस्त रहने महिलाहरूलाई आफ्नै स्वास्थ्यका लागि समय निकाल्न प्रेरित गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य हो।
“महिलाहरू परिवार र समाजका लागि निरन्तर खटिरहन्छन्, तर आफ्नो स्वास्थ्यप्रति सचेत हुने समय निकाल्न सकिरहेका हुँदैनन्। पिंक केयरएथनले उनीहरूलाई आफ्नै लागि पनि समय दिन उत्प्रेरित गर्ने विश्वास लिएका छौं,” उनले बताए।

कार्यक्रमका लागि चर्चित कलाकार उषा रजकलाई गुडविल एम्बासडर घोषणा गरिएको छ। उनको सहभागिताले कार्यक्रमप्रति थप ऊर्जा र आकर्षण थप्ने विश्वास गरिएको छ।

यसअघि “काठमाडौं पिंकाथन” नामबाट आयोजना हुँदै आएको उक्त कार्यक्रमलाई अघिल्लो वर्षदेखि अझ नेपालीपन झल्किने गरी “काठमाडौं पिंक केयरएथन” नामबाट सञ्चालन गर्न थालिएको हो। लेजर पोर्ट नेपाल ले सन् २०१७ देखि २०१९ सम्म लगातार तीन वर्ष उक्त कार्यक्रम आयोजना गरेको थियो। त्यसपछि कोभिड–१९ महामारी तथा विविध सामाजिक–आर्थिक कारणले कार्यक्रम केही समय रोकिएको थियो। सन् २०२४ मा पुनः आयोजना गरिएको यो इभेन्टलाई २०२५ मा सफलतापूर्वक सम्पन्न गरी अहिले २०२६ मा निरन्तरता दिँदै अझ व्यापक सहभागितासहित सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजकले स्वास्थ्य–सचेत, उत्साहपूर्ण र समावेशी सहभागितामार्फत महिलाहरूको शारीरिक तथा मानसिक सुदृढतामा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।यस वर्षको कार्यक्रममा करिब २,५०० देखि ३,००० महिलाहरू सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित खबरहरु