काठमाडौँ, फागुन २७ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिक तर्फको सम्पूर्ण मतगणना पनि सम्पन्न भएको हो। उहाँले मतगणना सकिएपछि सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयबाट आयोगमा विवरण पठाउने क्रम भने जारी रहेको बताउनुभयो।
समानुपातिकतर्फको मतगणना सकिएसँगै राजनीतिक दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गर्ने प्रक्रिया पनि सुरु भएको आयोगले जनाएको छ। केही दिनभित्रै उक्त प्रक्रियाले पूर्णता पाउने बताइएको छ।
यसैबीच बुधबार बिहान ११ बजेसम्म समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको आयोगले जनाएको छ। गणना भएको मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार दुई सय ३५ मतसहित अग्रस्थानमा रहेको छ।
त्यसैगरी नेपाली कांग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार आठ सय ५४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख पाँच हजार सात सय ७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत प्राप्त गरेका छन्। अन्य दल भने थ्रेसहोल्ड कटाउने अवस्थामा देखिएका छैनन्।