काठमाण्डौ – यहि माघ १० गतेभित्रै कक्षा १२ को परिक्षाफल प्रकाशन हुने कुुरा जानकारी भएको छ । हालसम्म तथ्याङ्क प्रवृष्टि (डाटा इन्ट्री) गर्ने काम सकिएको तर रुजु गर्ने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिए ।
४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम यसै साता सकिने भएकाले १० गतेभित्र नतिजा प्रकाशनको तयारी भइरहेको अध्यक्ष पौडेलले जानकारी दिए । केही समयअघि नै नतिजा प्रकाशनको तयारी भए पनि विद्यालयहरूको चरम लापर्बाहीका कारण ढिलाइ भएको उनले जानकारी दिए । दिनुपर्ने अङ्क, विद्यार्थीको विवरण, उल्लेखित मापदण्डलगायतका विषयमा विद्यालयहरूले लापर्बाही गर्दा ढिला भएको पौडेलले बताए ।
विद्यालयहरूलाई धेरै सिकाएको तर लापर्बाही गरेर कच्चा काम गरी पठाएकाले १२ कक्षाको नजिता प्रकाशनमा ढिलाइ भएको अध्यक्ष पौडेलले जानकारी दिए ।
सामान्यतया जेठमा हुने परीक्षा यस पटक भने कोरोना महामारीका कारण गएको मङ्सिर ९ गतेदेखि सुरु भएको थियो । हरेक विद्यालयलाई परीक्षा केन्द्र बनाइएको थियो । परीक्षामा चार लाख ३१ हजार विद्यार्थी सहभागी छन । यसपटक ४० प्रतिशत अङ्क सैद्धान्तिक आधारमा, ४० प्रतिशत कक्षा ११ मा पाएको अङ्कका आधारमा र २० प्रतिशत अङ्क प्रयोगात्मक परीक्षाको आधारमा दिइने छ ।

सम्बन्धित खबरहरु