काठमाडौँ, कात्तिक ९ गते। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आज (सोमबार) देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। आज अपराह्न ४:३० बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा साविकका आठ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदैछन्। टोलीहरूले सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर ढाँचामा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को आधिकारिक मान्यता प्राप्त यस संस्करणमा विश्व क्रिकेटका चर्चित खेलाडीहरू डेविड वार्नर, एन्द्रे रसेल, डेभिड मिलर र सकिब अल हसनलगायतको सहभागिता रहेको छ। प्रतियोगिताको नियमअनुसार प्रत्येक टोलीले प्लेइङ–११ मा सात नेपाली र चार विदेशी खेलाडी समावेश गर्नुपर्नेछ।

यसपटक नेपाली क्रिकेट इतिहासमै पहिलोपटक खेलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डिआरएस) प्रविधिको प्रयोग गरिँदैछ। नियमअनुसार प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा असफल रिभ्यु लिन पाउनेछन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार यस संस्करणको पुरस्कार राशि पनि वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

क्यानले प्रतियोगिता अवधिभर करिब १५० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको छ। जसमा प्रायोजनबाट १८ करोड रुपैयाँ तथा टिकट बिक्रीबाट ७० देखि ७५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ।

एनपिएलको तेस्रो संस्करणले नेपाली क्रिकेटमा नयाँ प्रविधिको प्रयोगसँगै अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिताका कारण थप आकर्षण बढाउने अपेक्षा गरिएको छ।

Source : NPL

सम्बन्धित खबरहरु