काठमाडौँ, कात्तिक १० गते । नेपाल प्रिमियर लिग (एनपिएल) – ३ अन्तर्गत मंगलबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई आठ रनले पराजित गर्दै विजयी सुरुआत गर्यो। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १५७ रन बनाएको थियो। जवाफी ब्याटिङमा विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटिन पुग्यो।
चितवनका लागि इङ्ल्यान्डका प्रारम्भिक ब्याट्सम्यान डेभिड मलानले ७० रनको उत्कृष्ट अर्धशतकीय पालि खेल्नुभयो। ५० बलको सामना गर्नुभएका उहाँले पाँच चौका र पाँच छक्का प्रहार गर्नुभयो। मलान एनपिएल–३ मा अर्धशतक बनाउने पहिलो खेलाडीसमेत बन्नुभयो।
त्यस्तै रवि बोपारा र डान माउस्लीले अविजित ६७ रनको साझेदारी गर्दै चितवनलाई प्रतिस्पर्धात्मक स्कोरतर्फ पुर्याउनुभयो भने बोपाराले ३२ तथा माउस्लीले २९ रन बनाउनुभयो। त्यस्तै चितवनका देव खनालले १२ र अर्जुन साउदले तीन रन बनाउनुभयो।
१५८ रनको लक्ष्य पछ्याएको विराटनगरले सुरुआतीमा भने राम्रो खेलेको थियो। लोकेश बम र इमरान शेखले पहिलो विकेटका लागि ४० रनको साझेदारी गर्नुभएको थियो भने लोकेशले २६ तथा इमरानले सर्वाधिक ३९ रन बनाउनुभयो।
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले १७ बलमा चार छक्का र एक चौका सहित ३३ रन बनाएर विराटनगरलाई जिततर्फ अघि बढाउन प्रयास गर्नुभयो। तर, चितवनका बलरले अन्तिम चरणमा उत्कृष्ट बलिङ गरेपछि विराटनगर लक्ष्यसम्म भने पुग्न सकेन।
चितवनका कमलसिंह ऐरीले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिनुभयो। उहाँ प्लेयर अफ द म्याच समेत घोषित हुनुभयो। रिजन ढकालले दुई तथा टम टेल, रञ्जित कुमार, डान माउस्ली र मोस्म ढकालले एक–एक विकेट लिनुभयो।
चितवनका प्रयोग भएका सबै बलरले कम्तीमा एक विकेट लिन सफल भएका थिए ।
Source : NPL