काठमाडौँ, कात्तिक १० गते । नेपाल प्रिमियर लिग (एनपिएल)–३ अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भयो। जनकपुरले अन्तिम छ विकेट केवल १९ रनमा गुमाएपछि कर्णालीले रोमाञ्चक जित हात पारेको हो।

कर्णालीका देब्रेहाते स्पिनर युनिस विक्रमसिंह ठकुरीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिनुभयो। उहाँले कप्तान हरमित सिंहलाई १९ रनमा आउट गर्नुका साथै जिम्मी निसम र आदित्य महतालाई लगातार बलमा आउट गर्दै खेल कर्णालीको पक्षमा पार्नुभयो।

जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाउनुभयो। उहाँले १७ बलमा दुई छक्का प्रहार गर्नुभयो। युनिस र पाकिस्तानी खेलाडी हुसैन तलातले तीन–तीन तथा नन्दन यादवले दुई विकेट लिनुभयो।

यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। कर्णालीका आरिफुल इस्लामले २९ बलमा चार छक्कासहित सर्वाधिक ४३ रन बनाउनुभयो। पवन सर्राफले ३७ रनको योगदान दिनुभयो।

जनकपुरका कप्तान हरमित सिंहले तीन विकेट लिनुभयो भने मोइन अली र राहुल यादवले दुई–दुई तथा ललित राजवंशीले एक विकेट लिनुभयो।

Source : NPL

सम्बन्धित खबरहरु