काठमाडौँ, कात्तिक ९ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको छ । गत संस्करणको फाइनलमा आमनेसामने भएका दुई टोलीबीचको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई सहजै पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । अनिल खरेलले अविजित १५ रन जोडे । अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् ।

सुदूरपश्चिमलाई कम योगफलमा रोक्ने क्रममा लुम्बिनीका किशोर महतोले चार विकेट लिए । शेर मल्लले तीन विकेट लिए । मल्लले विनोद भण्डारीलाई आउट गर्दै यस संस्करणमा पहिलो विकेट लिने बलर बने ।

८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि अस्ट्रेलियाली ब्याटर डार्सी सर्टले १८ बलमा ४० रनको आक्रामक इनिङ्स खेले । आसिफ शेखले ३२ रन बनाए । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

यस जितसँगै साविक विजेता लुम्बिनीले एनपिएलको तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

Source : NPL

सम्बन्धित खबरहरु